इन्द्रेणी संवाददाता
दाङ,३० साउन । प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीको नाम जोडिएर र प्रदेश सभा सचिवालय सम्बन्धी केही नकारात्मक र भ्रामक समाचार आइरहेको भन्दै प्रदेश सभा सभामुख स्वकीय सचिवालयले खण्डन गरेको छ ।
आज शुक्रवार सभामुख घर्तीका स्वीकय सचिव ध्रुवविक्रम ओलीले एक विज्ञप्ति जारी गरी प्रदेश ५ प्रदेश सभा सचिवालय सम्बन्धी केही दिन यता आएका नकारात्मक श्रृखलाबद्ध समाचार प्रकाशन हुँदै आएकोप्रति ध्यानाकर्षण भएको जनाउदै खण्डन गरेका छन् । यस सम्बन्धमा प्रदेश सभाको सार्वजनिक लेखा समितिको ध्यान आकर्षण भइ छानविन प्रक्रिया शुरु भइ सकेको तर समितिमा विचाराधिन विषय लाई नै प्रभावित गर्ने गरी साउन २९ गते अन्नपूर्ण पोष्ट र दैनिक लुम्विनी पत्रिकामा सभामुख घर्तीले कर्मचारी भेला गरी सूचना दिने कर्मचारीलाई सरुवा गर्न निर्देशन दिएको, अनावश्यक गाडी किनेको र चढेको, सचिवालयमा भएका वेतिथिहरुको संरक्षण गरेको भन्ने आशयका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकारी अड्डामा हुने गतिविधि सम्बन्धी सूचना लिन चाहने जो कोही व्यक्तिले प्रक्रियाा अनुसार सूचना प्राप्त गर्न सक्ने प्रावधान भएकोले प्रक्रया अनुसार सूचना दिने कुनै पनि कर्मचारी दण्डित हुँदैन । माननिय सभामुखज्यूको लागि अधिल्लो आवमा गाडी खरिदको लागि टेण्डर भएकोमा स्पेसिफिकेसन नमिलेकोले टेण्डर रद्ध भएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘यस वर्ष प्रकृया अनुसार (एस कोडा) कम्पनीको गाडी प्रकृया अनुसार किनिएको हो । सभामुखसँग ३ वटा गाडी भएको र स्ट्रोम गाडी चढेको भन्ने कुरा गलत हो ।’
जारी विज्ञप्तिमा आइन्दा यस प्रकारका तथ्यहिन समाचार सम्प्रेषण नगर्न सम्बन्धित पत्रकारलाई आग्रह गर्नुका साथै यस्ता भ्रामक समाचारको भ्रममा नपर्न आम जनसमुदायमा अपिल गरिएको छ ।












