इन्द्रेणी संवाददाता
पूर्वी रुकुममा एक श्रीमतीले चिर्पटले हानेर आफ्नै श्रीमानको हत्या गरेकी छिन । जिल्लाको सिस्ने गाउँपालिका २ सुद्रीकी रेश्मा बिकले चिर्पटले हिर्काउदा श्रीमानको ज्यान गएको हो ।
चिर्पटले प्रहार गर्दा सिस्ने २ सुद्रीका २३ वर्षीय बिछोड बिकको ज्यान गएको हो । सामान्य पारिवारिक विवादको क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले चिर्पट प्रहार गर्दा बिकको ज्यान गएको स्थानीय शिक्षक मोहन कुमार रोका मगरले जानकारी दिए ।
रोकाका अनुसार मृतक टाउकोमा चिर्पट प्रहारबाट गहिरो चोट लागेको थियो । घटना मध्यरातमा भएपनि स्थानीयले बिहानपख मात्र थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि ज्यान गएको हुनसक्ने उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मा बिकलाई नियन्त्रणमा लिइएको छ ।











