सल्यान, १६ जेठ । पछिल्लो समय सल्यानमा कृषिमा यन्त्रिकरण बढ्दै गएको छ । यहाँका स्थानीय तहहरुले समेत कृषिको यन्त्रिकिकरणमा बढी जोड दिएका छन् । परम्परागत रुपमा कुटो, कोदालो गर्ने र हलोले जोत्ने किसानहरु यतिबेला मेसिनरी सामाग्रीको प्रयोग गर्ने भएका छन् ।
किसानहरुको मागको आधारमा जिल्लाको कपुरकोट गाउँपालिकाले थ्रेसर, मिनि टिलर अनुदानमा वितरण गरेको छ । साथै व्यवसायिक पशु पालनमा लागेका किसानलाई च्याप कटर समेत वितरण गरेको गाउँपालिकाका आर्थिक विकास समिति संयोजक तथा गाउँपालिकाका प्रवक्ता यमकुमार वस्नेतले जानकारी दिए । २४ वटा मिनि टिलर र १० वटा थ्रेसर र ४ वटा च्याप कटर वितरण गरिएको उनले जनाए ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुसेवा शाखा तर्फको ५० प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकम जुटाएर च्याप कटर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले चार थान च्याप कटर ब्यवशायीक पशुपालन गर्ने किसानहरुलाई वितरण गरेका हुन् ।
४७ हजार रुपैयाँ पर्ने च्याप कटरमा गाउँपालिकाले ३५ हजार २५० र किसानले ११ हजार ७५० रुपैयाँ ब्यहोरेको पशु विकास शाखा प्रमुख अरुणा भण्डारीले बताइन् ।
यस्तै ५० प्रतिशत अनुदानमा २४ वटा मिनि टिलर र १० वटा थ्रेसर पनि गाउँपालिकाले आधिकारिक रुपमा दर्ता भएका किसान समूह र फर्मलाई वितरण गरेको छ ।











