माधवकुमार ओली
रोल्पा, २२ पुस । रोल्पाको सुनछहरी गाउँपालिका–७, जेलबाङमा रहेको फलाम खानी सम्बद्ध निकायको बेवास्ताले ओझेलमा परेको छ । १६औं शताब्दीदेखि निरन्तर उत्खनन हँुदै आएको खानी तत्कालीन बहुदलीय व्यवस्थामा वन कार्यालयले रोक लगाएपछि फलाम निकाल्न छोडिएको थियो । फलाम प्रशोधन गर्ने पुराना मजदूरको मृत्युपछि उक्त शीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा खानी ओझेलमा परेको स्थानीयको भनाइ छ ।

ironपछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै भारतलगायत अन्य देशबाट फलाम आयात हुन थालेपछि खानी उत्खननमा कसैको ध्यान नगएको स्थानीय चन्द्रबहादुर बुढाले बताए । तत्कालीन पञ्चायती व्यवस्थामा जेलबाङको फलाम दाङ, सल्यान, प्यूठान, रुकुम र बाग्लुङसम्म लैजाने गरिएको उनको भनाइ छ ।

फलाम खानी बचाइराख्न जेलबाङ सेवा समाजले जेलबाङको जरापानीमा फलाम प्रशोधन संग्रहालय निर्माण शुरू गरेको छ । तत्कालीन समयमा कसरी फलाम प्रशोधन गरिथ्यो भन्ने बारेमा नयाँ पुस्तालाई शीप हस्तान्तरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालयको निर्माण गर्न लागेको समाजले बताएको छ ।

फलाम खानी उत्खननका लागि प्रदेश सरकारसँग छलफल अघि बढाएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । ‘रोल्पामा रहेको यो फलाम खानी उत्खनन गर्न सके जिल्लाको मात्र नभई समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले हामीले प्रदेश र संघीय सरकारसँग यसको उत्खननका लागि पहल गरेका छौं,’ उनले भने ।