काठमाडौं, २६ मंसिर । सरकारबाट ६ करोड नगद बुझेको पप्पु कन्स्ट्रक्सनले बीचको भाग मात्र ठड्याएर भैरहवा–लुम्बिनी सडकखण्डमा दुई पुल अलपत्र पारेको छ, ०७३ बर्खामा सकिनुपर्ने काम ०७६ हिउँदसम्म पर्खिएर सरकारले बल्ल ठेक्का तोडेको छ, अर्को ठेक्का कहिले लाग्ने हो निश्चित छैन
सरकारले नेपाल भ्रमण वर्षको तयारी गरिरहेका वेला विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी जाने यात्रुले वर्षौँदेखि धुलो खानुपरेको छ । पप्पु कन्स्ट्रक्सन र बाम्ती निर्माण सेवाको बदनियतका कारण भैरहवा–लुम्बिनी सडकखण्डमा दुई पुल अलपत्र छन् ।
हुलाकी राजमार्गअन्तर्गत भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ नदी र दानव नदीमा पुल बनाउन पप्पु र बाम्ती निर्माण सेवाले संयुक्त रूपमा २५ पुस ०७१ मा ठेक्का लिएका हुन् । पुल निर्माण ०७३ भित्र सक्ने सर्त थियो । जनताले दिनदिनै सास्ती पाइरहेका छन् । म्याद सकिएको तीन वर्षसम्म पनि दुवै पुल अलपत्र पारेपछि सरकारले बुधबार सार्वजनिक सूचना निकालेर ठेक्का तोडेको छ । अब ठेक्का कहिले लाग्ने हो, ठेकेदार पनि कस्ता आउने हुन् र पुल कहिले बन्ने हो भन्ने अनिश्चित छ ।
टेन्डर भयो, ठेक्का लाग्यो, पप्पु र बाम्ती कन्स्ट्रक्सनले नगद बुझे, पुलको बीचको भाग ठडियो, दुई छेउको काम गर्नुको सट्टा ठेकेदार लामो समयसम्म सम्पर्कविहीन भएको आयोजनाको भनाइ छ । छेउको फाउन्डेसन खन्दा चल्तीको सडक भासिने र यातायात अवरुद्ध हुने ठेकेदारको भनाइ थियो । सडक भासिएमा खोलामा डाइभर्सन खोलेर यातायात सुचारु गर्न भनिएको थियो । तर, ठेकेदार कम्पनीले काम छाडेको थियो ।
तिनाउ पुल बनाउन ६ करोड दुई लाख र डोन्डा पुल बनाउन पाँच करोड ५६ लाखमा सरकारले पप्पु र बाम्तीको संयुक्त उपक्रमलाई ठेक्का दिएको थियो । समयमा काम नसकेपछि म्याद ६ महिना थपेर पुस ०७३ मा सक्ने सहमति भएको थियो । पछि दुई वर्ष नै म्याद बढाएर असार ०७५ मा सम्पन्न गर्ने भनिएको थियो । तर, थपिएको म्याद सकिएको डेढ वर्षमा पनि तिनाउ र डोन्डा पुलको बीचको भाग मात्रै बेवारिसे अवस्थामा छ । तर, यसबीचमा तिनाउ पुल निर्माणका क्रममा तीन करोड ६५ लाख र डोन्डा पुलको निर्माणका लागि दुई करोड ४० लाख बुझिसकेको छ । नयाँ पत्रिकाबाट











