राजेन्द्र न्यौपाने
गोरखा, ९ मंसिर । आरुघाट गाउँपालिकाले गाउँपालिका भित्र रहेका गरिव किसानहरुका लागि ९ वटा भैंसी र २ वटा राँगो वितरण गरेको छ । पालिकाको पशुसेवा शाखाको वार्षिक विकास कार्यक्रमबाट पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत गाउँपालिकाको अनुदानमा ९ वटा उन्नत जातको दुधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण
गरिएको हो ।
भैंसी हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष पूर्ण दाहालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा विगतका वर्षहरुदेखि नै केही बजेट विनियोजन गर्दै आएको तथा उक्त बजेटको सही सदुपयोग भएको बताए । गरिवीलाई उकास्नका लागि मुलुकमा परिवर्तनमा आएको हो आगामि वर्ष हामी धेरै किसानहरुका लागि भैंसी, राँगो, बाख्रा, व्याड बोका वितरण गर्छौं उनले भने।
गाउँपालिकामा दुग्ध उद्योग स्थापना लागि आवश्यक पर्ने वजेट व्यवस्थापन गरिएको र सबै किसान दाजूभाई दिदीबहिनीहरु मेहनतका साथ उत्पादनमा लाग्नुपर्ने उनले बताए । आरुघाट गाउँपालिकामा उत्पादन गर्न सकिने कुनैपनि बस्तु बाहिरबाट आयात गर्न नहुने उनको भनाई छ । यहाँबाट उत्पादन भएका बस्तुहरु अन्य बजारमा पुर्र्याइ त्यस क्षेत्रका नागरिकहरुको माग पूरा गर्नुपर्ने उनले बताए ।











