काठमाडौं, ४ मंसिर । करिब १२ वर्ष पहिले रौतहटमा भएको बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जीवितै जलाएर मारेको आरोपमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफ्ताब आलम पक्राउ परे । आलमको पक्राउ राजनीतिक एवं आपराधिक जगत्कै पछिल्लो सर्वाधिक चर्चाको विषय बन्यो ।
आलम संलग्न भनिएको हत्याकाण्डमा उच्चस्तरीय राजनीतिक व्यक्ति नै पासविक हत्यामा अग्रसर रहेको कारण चर्चाकै शिखरमा पुग्यो । यसले एकातिर मुलुकको राजनीति कुन स्तरको छ भन्ने कुरा प्रदर्शित गर्दछ भने अर्कोतर्फ हाम्रो सामाजिक वातावरण कस्तो छ भन्ने कुरा पनि चित्रण गर्दछ । रौतहटको यस हत्याकाण्डले राजनीतिक स्वार्थमा जस्तोसुकै अपराध गर्न पनि व्यक्ति पछाडि पर्दैन भन्ने दृष्टान्त प्रस्तुत गरेको छ ।
समाजमा सबैको सोचाइ र दृष्टिकोण समान हुँदैन । विचारको असमानता नै विकास र प्रगतिको प्रेरक बन्छ भने फरक विचार र दृष्टिकोणले नकारात्मक कार्यबारे सधैं खबरदारी गरिरहेको हुन्छ । दुबैको मिश्रित प्रतिक्रियाबाटै समाजको उत्थान हुने भएकाले हदभित्रको असमान दृष्टिकोण नकारात्मक मानिँदैन । तर, पछिल्लो समयमा हाम्रो नकारात्मक दृष्टिकोणले हद नाघिसकेको छ । हद नाघी हुने हाम्रा व्यवहारलाई अंकुश लगाउने मेकानिज्म नै असफल बन्दै आएपछि व्यक्तिको आचरण र व्यवहार नै स्वेच्छाचारी बन्न पुग्दा समाजमा अकल्पनीय घटना हुने गरेका छन् । आलम प्रकरणको रौतहट घटना यसेको पछिल्लो दृष्टान्त हो ।
मोहम्मद अफताब आलमको स्वेच्छाचारिता पराकाष्ठामा पुगेरै छटपटाइरहेका घाइतेहरू इँटाभट्टाको आगोको मुस्लोमा होमिन पुगे । सम्झँदा नै आङ सिरिंग हुने यस्तो पासविक घटना आलमले किन गराए घटनालाई थामथुम पार्न स्थानीय समाज एवं राज्यसंयन्त्र नै किन लाग्यो यति मात्र होइन घटनाका पीडितहरू नै आलमलाई बचाउन किन लागिपरे भन्ने कुरा नै यस घटनाको रहस्यमय पक्ष भएकोले यस बारेमा संक्षिप्त चर्चा गर्नु सान्दर्भिक देखिन्छ । राजधानाीमा खबर छ ।











