नेपाली काङ्ग्रेस दाङले कुनै एक व्यक्तिका नाममा सर्वसहमति कायम हुन नसकेपछि १० जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो । नेपाली काङ्ग्रेस दाङले केन्द्रमा पठाएका नामहरुमा जिल्ला सचिव शङ्कर डाँगी, केशव आचार्य, खिमप्रसाद खराल, टीका घर्ती, जगत खड्का, यातायात व्यवसायी सुरेश हमाल, किरण शाह, चूडामणि ढकाल, भरत केसी र मदन रसिक रहेका छन् ।
यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भने उम्मेदवार चयन गर्ने प्रक्रियामा अझै लागेको छैन । दाङ निर्वाचन क्षेत्र नं. ३ को २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उत्तरकुमार वली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनी एउटा सडक दुर्घटनामा परी घाइते भएका थिए । उपचारकै क्रममा काठमाडौंमा सांसद वलीको मृत्यु भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त भएको हो ।
सत्तारुढ दल नेकपाबाट चुनावमा भिड्ने नामहरु पनि बजारमा चर्चा हुन थालेका छन् । दिवंगत सांसद उत्तरकुमार वलीकै धर्मपत्नी विमला वली, तत्कालीन नेकपा (एमाले) दाङका जिल्ला सचिव शोभाराम बस्नेत, चूर्णबहादुर वली लगायतका नामहरु चर्चामा आउन थालेका छन् ।











