धनगढी, २७ असार । भारी वर्षाका कारण सुदूरपश्चिम क्षेत्रको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै गएको पहिरोले दार्चुला र बाजुरामा बढी जोखिम देखिएको छ ।
कैलालीमा पर्ने सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह बढेको छ । कर्णालीमा बिहीबार बिहान पानीको सतह ६.६३ मिटर पुगेको छ ।
कर्णाली नदीमा ११ मिटरभन्दा माथि पानीको सतह पुगेमा तल्लो तटीय क्षेत्रका लागि खतरा मानिन्छ ।
यसैगरी, साना नदी तथा खोलाहरूमा पनि पानीको सतह बढेको छ । बाजुरा जिल्लाको सबैभन्दा ठूलो नदीका रूपमा चिनिँदै आएकोे बूढीगङ्गा नदी पहिरोका कारण थुनिने सम्भावना छ ।
कैलालीको केही ठाउँ डुबानमा परेका छन् । बुधबार राति र बिहीबार बिहान भएको वर्षाले धनगढीको हसनपुर, एलएन चोक, कनरीलगायत क्षेत्र डुबानमा परेको हो ।
जिल्लाको कर्णाली, मोहना, पथरैया, कान्द्रा, काँढा, खुटियालगायतका नदीमा बाढी आएको छ । यसैगरी, खोलानालामा पानीको सतह बढेको छ ।
बाजुराका ९५ बस्ती उच्च जोखिममा
बाजुराका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले गत फागुनमै विपद् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको छ ।
साँफे–मार्तडी–कोल्टी सडक अवरुद्ध
दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । बार्जुगाड खोला हँुदै सदरमुकाम मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरोले १२ परिवार विस्थापित
महाकाली नगरपालिका–९, दत्तुमा सडक निर्माणका क्रममा खसेको पहिरोका कारण करिब १२ परिवार विस्थापित भएका छन् । निर्माणाधीन दत्तु–थाप्ला सडक खण्डमा जम्मा भएको माटोले पहिरोको रूप लिएपछि अन्य २१ परिवार पनि विप्दको जोखिममा छन् ।











