यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्या हुने भएको छ । विभागले नै दसैँमा गाडी अभाव हुने संकेत गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलपातीपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन् ।
‘फुर्सद हुनेहरू पहिल्यै गइदिनुभयो भने पछिलाई चाप कम हुन्छ, सहज रूपमा जान पनि पाउनुहुन्छ,’ उपाध्यायले भने, ‘अध्ययन–अध्यापन गर्ने–गराउनेहरूको छिटो छुट्टी हुने भएकाले चाँडो घर गइदिन हाम्रो अनुरोध छ ।’ यो वर्ष दसैँका लागि नयाँ बस नथपिने उनले बताए । सरकारले सिन्डिकेट खारेज गरेपछि असन्तुष्ट व्यवसायीले नयाँ गाडी नथपेका हुन् । यसअघि विभागले व्यवसायीले नयाँ बस नथपे विद्यालयका बस चलाएर भए पनि यात्रुलाई सुविधा दिने बताएको थियो । तर, अहिले उनले यो प्रयास सफल हुन नसकेको बताए । नयाँ पत्रिकामा खबर छ ।











