दाङ, असोज ११ । बढ्दै गएका सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । केही दिन यता जिल्लामा दुर्घटना बढ्दै जान जान थालेपछि प्याव्सन दाङले विद्यालयका प्रिन्सिपल, चालक र सहचालकहरुलाई ट्राफिक सचेतना प्रदान गरेको हो ।
जिल्लाका घोराही, तुलसीपुर र लमहीमा एकैसाथ आयोजना गरिएका कार्यक्रममा प्रिन्सिपलहरुलाई स्कुल वस व्यवस्थापन र चालकहरुलाई दुर्घटना न्यूनीकरण गर्ने उपायहरुका बारेमा सचेतना प्रदान गरिएको प्याव्सन दाङका अध्यक्ष यादव गिरीले जानकारी दिनुभयो ।
बुधबारबाट सुरु भएको कार्यक्रमअन्तर्गत पहिलो दिन प्रिन्सिपलहरुलाई र दोस्रो दिन बिहीबार चालक र सहचालकहरुलाई सचेतना प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार घोराही र तुलसीपुरमा प्रिन्सिपलहरुलाई सचेतना जिल्ला ट्राफिक प्रमुख मदन कुँवरले प्रदान गर्नुभएको थियो, भने लमहीमा प्रहरी सहायक निरिक्षक विष्णु केसीले सचेतना प्रदान गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमको दोस्रो दिन बिहीबार स्कुल वसका चालक र सहचालकहरुलाई ट्राफिक नियम र दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा सचेतना प्रदान गरिएको थियो । घोराहीमा आयोजित कार्यक्रममा प्रहरी सहायक निरिक्षक विवेक महराले सचेतना प्रदान गर्नुभएको थियो, भने प्याव्सन दाङका अध्यक्ष यादव गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रअहरुकाे सचेतना कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष पाेषण न्यौपानेको अध्यक्षता तथा चालकहरुकाे सचेतनामा मानसिङ घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ७१ जना चालक र सहचालकको सहभागीता रहेको थियो ।
त्यस्तै तुलसीपुरमा प्रहरी नायव निरिक्षक चन्द्रबहादुर केसीले प्रशिक्षण दिनुभएको कार्यक्रममा ६२ जना चालक र सहचालकको सहभागीता रहेको थियो । जिल्ला उपाध्यक्ष मधुसुदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख देवराज विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो, भने ३७ जना चालक र सहचालकको सहभागीता रहेको लमहीको कार्यक्रम जिल्ला उपाध्यक्ष रेशमबहादुर बुढाको अध्यक्षतामा भएको थियो ।











