दाङ, ६ भदौ । आज इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व कबर ईद । विविध तरिकाले आज मुस्लीम समुदायले आज यो मनाउदैछन् ।
यो पर्व मासुुका परिकार र बलिदानको पर्वको रूपमा मानिन्छ ।

edulधनी–गरिब हरेक मुस्लिम परिवारमा यो बेला मासु प्रशस्त हुन्छ । आफ्नो क्षमता अनुसार खसी, राँगा, ऊँट र भेंडालगायतका जनावरलाई ईश्वरको आदेश अनुसार कुरबानी (ईश्वरको नाममा जनावर काट्ने) गरेर यो बेला खाने तथा खुवाउने गरिन्छ । अधिकांशका घरमा यी परिकार पाक्ने भएकाले तीन दिनसम्म आफन्त र साथीभाइलाई घरमा बोलाएर खुवाउने चलन छ । मुस्लिम समुदायका चेलीहरू भने पहिलो दिन आफ्नो घरमा पर्व मनाएर दोस्रो दिन माइती आउँछन् ।

यो पर्वका लागि केही प्रदेश सरकारले पनि आज सार्वजनिक विदा दिएको छ । प्रदेश नं. १ र ५ मा सार्वजनिक विदा दिइएको छ ।
यसैबीच काठमाडौं । मुस्लिम समुदायको पर्व ईदका अवसरका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपालगायतका पार्टी प्रमुखहरुले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।

यस्तै, उपपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान पर्व बकर–इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहेकासबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इदका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस्तै, नेकपा कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालले पनि ईदको शुभकामना व्यक्त गरेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देशबासीमा ईदको शुभकामना व्यक्त गरेका छन् ।