उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आइतबार रुकुम(पश्चिम)को चौरजहारी अस्पतालमा तोडफोड भएको छ । भिड नियन्त्रण गर्न प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।

भेरी नगरपालिका, १३ कुदु जाजरकोटकी २९ वर्षीया यशोधा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । तोडफोडले ठुलो रुप लिएसँगै भिड नियन्त्रण गर्न हवाई फायर गर्नु परेको प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

पत्थरी र मृगौलाको समस्याबाट पीडित यशाेधाको डाक्टरको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप छ । तोडफोडबाट अस्पतालमा सिसा फुटेका छन्, भने अन्य संरचनामा पनि क्षति पुगेको छ ।

बिरामीलाई थप उपचारका लागि काठमाडौं लैजान आफन्तले झिकाएको हेलिकोप्टर चौरजहारीमा पुगेपछि अस्पतालले यशाेधालाई मृत घोषणा गरेको आफन्तले जनाएकाे छ । अस्पतालमा अढाई घण्टासम्म तनाव ग्रस्त बनेको थियो । बेलुकी साढे ८ बजेमात्र स्थिति नियन्त्रणमा आएको हाे । अवस्था तनावपूर्ण बनेपछि अस्पतालमा उपचार सेवा पूर्ण ठप्प भएको छ ।
नयाँ पत्रीकाबाट