जाजरकोट, २० साउन । सदरमुकाम खलंगाको भेरी नगरपालिका–३, ठाँटी बजारमा आज बिहान गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । पहिरोले तिर्थबहादुर बोहोराको घर र गोपाल सुनुवारको घर पुर्दा आठ जनाको ज्यान गएको जाजरकोटका सहायक जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताए ।
पहिरोमा परी तिर्थराज बोहराको घरमा भाडा गरी बस्ने लालबहादुर लोहारका श्रीमती र तीन छोरीको घटनास्थलमा नै ज्यान गएको छ ।

pairoलालबहादुर लोहार भने सामान्य घाइते हुनुभएको छ । उनकी श्रीमती सितली लोहार, छोरीहरु १० वर्षकी रञ्जना लोहार, सात वर्षकी मनिषा लोहार र तीन वर्षकी भगवती लोहारको ज्यान गएको छ । तिर्थराज बोहराकी आठ वर्षीय छोरी नन्मा बोहराको पनि घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोपाल सुनुवारको घरमा भाडा गरी बस्ने माया परिवारका दुई भाइहरुको पनि घटनास्थलमा नै ज्यान गएको हो । माया परिवारका भाइ दशरथ परिवारको शव फेला परेको छ भने अर्का भाइको शव अझै फेला नपरेको सहायक जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

त्यस्तै गोपाल सुनुवारको घरमा खेल्न आएका दुई बालक १३ वर्षका नरेन्द्र परिवार र १० वर्षका नविन परिवारको पनि घटनास्थलमा ज्यान गएको छ । पानी परेपछि फेरि पहिरो जाने सम्भावना भएकाले अरुलाई सुरक्षित स्थलतिर सारिएको छ ।