उमेश बन्जाडे
श्रावण, १० क्वालालम्पुर । घरपरिवारको आधार नै थला परेपछीको अवस्था सायद भोग्नेलाई मात्रै थाहाहुन्छ। धुरी खाँबो जिर्ण बन्दै जाँदा घरको छानो जोगाउने जिम्मेवारी बोकेको मान्छे अपत्यारिलो भुमरीमा परेपछि सम्भवत पारिवारिक अवस्था झन विकराल बन्दै जान्छ नै। यस्तै पिडाले थलिएकाछन् दाङ तुलसीपुरका एक युवा मलेसियामा। धन कमाउने आशा सहित घरबाट परदेश पसेक उनि सडक दुर्घटनामा पर्दा पिडाले जेलिएका छन्।

विगत पाँचमहिना देखि पुर्ण उपचार गराउन नसक्दा अप्ठ्यारोमा परेका हुन। दाङको तुलसीपुर उप महानगरपालिका दस का डम्बर बस्नेत गत जनवरीमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । कम्पनीको काम सकेर खाद्यान्न किनमेलका लागि बजार जाँदैगर्दा उनि दुर्घटनामा परेका हुन। रोजगारीका लागि २०७२ साल असोजमा ‘मन ओभर्सिज प्रा.ली’ बाट मलेसियाको ‘टि. एस. के. मेसिनरी एण्ड इन्जिनियरिङ’ कम्पनीमा आएका बस्नेत अहिले आर्थिक अभावका कारण पुर्णरुपमा स्वस्थ हुन नसकेका हुन् ।

घाइते बस्नेतलाई सेलेङ्गोर जिल्ला स्थित केलाङको स्थानीय अस्पतालले प्रारम्भिक उपचार पछि थप उपचारका लागि राजधानी क्वालालम्पुरको ‘सुंघाई बुलोन’ अस्पतालमा रिफर गरेको थियो। टाउकोमा गम्भीर चोट लागेका बस्नेतलाई अस्पतालले डिस्चार्ज गरेपनी टाउकोमा खुन जमेको भन्दै अप्रेसन गरियो ।

चोट गहिरो रहेकाले उक्त भागलाई पुनः एकपटक टाँका खोलेर सफाइ गरेपछी मात्रै बिरामी यथास्थितिमा आउन सक्ने अस्पतालको सुझाव छ। बस्नेतले नेपाल गएरै उपचार गराउने चाहना व्यक्त गरेपनी टाउकोमा चोट पुगेको स्थानबाट एउटा ‘मांसपेशी’ झिकेर त्यसको सफाइ गर्नुपर्ने भन्दै अस्पतालले आईसियु मा राखेको छ। जसलाई पुरानै स्थानमा राख्न छब्बीस हजार मलेसियन रिंगिट लाग्ने अस्पताल स्रोतले जनाएको छ।

बिमा कम्पनीले उपचारका लागि अठार हजार मलेसियन रिंगिट उपलब्ध गराए पनि त्यो रकम यस् अघिको उपचारमै सकिएको पिडित बस्नेतले बताएका छन् । अहिले अस्पताल बाहिरै भएपनी पैसाको अभावमा उपचार प्रभावित भएको पीडित बस्नेतले जनाएका छन्। दुर्घटना भएको पाँचमहिना वितिसक्दा पनि कतैबाट सहायता नपाएका उनले मिडियाहरुले आफ्नो समस्याका बारेमा जानकारी स्वरुप समाचार प्रशारण वा प्रकाशन गरिदिएमा सहयोग उठ्न सक्ने आशा व्यक्त गरेका छन् ।

यता यहि अवस्थामा आर्थिक नजुटाई थप उपचार गर्न नसकिने अस्पताल स्रोतले जनाएको रोल्पा निवासी शुकुमार घर्तिले बताउनु भएको छ। उनको अवस्था दैनिक असमान्य बन्दै गएका कारण सबैसँग सक्दो आर्थिक सहयोगको अपेक्षा गरिएको घर्तिको आसय थियो। पिडित बस्नेतले पनि छिटोभन्दा छिटो उपचार गराएर स्वदेश फर्किने सपना बुनेकाले सवैसँग सक्दो सहयोगको लागि अपिल गरेका छन्। ३० वर्षिय बस्नेतको परिवारमा आमा बुवा, छोरी र श्रीमती रहेका छन् ।