विरेन्द्रनगर, २ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५ ७६ का लागि सवा २८ अर्ब २८ करोड रुपैयाँको बजेट ल्याएको छ । कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।

karnaliकर्णाली सरकारले चालू खर्चतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ४० करोड गरी कुल २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।

यो प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक राजस्वबाट ५० करोड जुटाउने योजना बनाएको छ । त्यस्तै चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने ५० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त हुन आएको ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब १३ करोड १४ लाख तथा ससर्त अनुदानबाट ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।

समपूरक र विशेष अनुदानबाट ५ अर्ब रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ भने १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको छ । यहाँको सरकारले प्रदेशको समृद्धिका लागि सडक, यातायात, जलस्रोत, ऊर्जा, खानेपानी, सहरी पूर्वाधार, सिँचाइ, सूचना, सञ्चार तथा प्रविधिलाई प्राथमिकतामा राखेको छ । त्यस्तै विकासका भौतिक पूर्वाधार, कृषि, वन, जडीबुटी, पर्यटन र उद्योग क्षेत्रको विकास र शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका सामाजिक क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखिएको छ ।