इन्द्रेणी संवाददाता
दाङ, २२ जेठ । जिल्ला समन्वय समिति दाङले चालु आर्थिक वर्षमा ढुंगाजन्य पदार्थ उत्खनन्बाट ८ करोड वढी आम्दानी गरेको छ । समितिले नदीजन्य पदार्थको उत्खनन् अधिकार प्रयोग गरी गरेका २२ वटा ठेक्का सम्झौताबाट सात करोड वढी र विपद व्यवस्थापनका लागि उत्खनन् गरिएका क्षेत्रबाट १ करीव साढे एक करोड गरी ८ करोड वढी राजस्व संकलन भएको जनाएको छ ।

utkhanananआज मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको देउखुरी क्षेत्रका विभिन्न पाँच स्थान र पश्चिम दाङको एक गरी विभिन्न ६ स्थानमा विपद व्यवस्थापनका लागि नदीजन्य पदार्थ उत्खनन्को अनुमति दिइएकोमा त्यसबाट १ करोड ९६ लाख २२ हजार ४० रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

त्यस्तै समितिले भिभिन्न समयमा नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणका लागि गरिएको अनुगमनका क्रममा २६ जेसिभी, २४ टिप्पर र ३ सय ९९ ट्रेक्टरलाई कारवाही गर्दा २८ लाख ५० हजार राजस्व संकलन भएको समितिका सभापति जितेन्द्रमान नेपालीले बताए । उनले जिल्लाका खोला तथा नदीहरुबाट नदीजन्य पदार्थ चोरीनिकासी ठूलो चुनौतीका रुपमा भएको बताए ।

त्यसको नियन्त्रणका लागि आफूहरुले प्रयास गरेपनि यो ठूलो सेटिङमा गरिने भएकाले जटिल र चुनौती पूर्ण रहेको उनको भनाइ छ । ‘हामी अनुगमनमा जाँदा परिवारलाई घर फर्कने हो कि होइन भन्ने चिन्ता हुन्छ’, उनले भने, ‘यो ठूलो सेटिङबाटै हुने गरेको पाइन्छ, काम जटिल छ तर हामी नियन्त्रणका लागि कसैसँग कुनै सम्झौता गर्दैनौं नियन्त्रणको प्रयास र्छाै ।’ उनले अनुगमनका क्रममा आफूलाई ज्यानमार्ने धम्की समेत आउने गरेको बताए ।

कार्यक्रममा समन्वय समितिका उपसभापति श्रीधर शर्मा पौडेलले जिल्ल समन्वय समितिको रसीद दुरुपयोग गरेर पनि ठूलो चोरी निकासी हुने गरेको भन्दै जिल्लामा जनप्रतिनिधिहरु आएपछि ९० प्रतिशत नियन्त्रणमा आएको दावी गरे ।