दाङ, ९ जेठ । दाङको घोराहीमा रहेका डेरी पसलहरु मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । घोराहीका अधिकांश डेरी पसल सञ्चालकहरुले डेरी पसलको रुपमा दर्ता गरेर कफी हाउस र किराना पसलहरु सञ्चालन गरेको पाइएको हो भने किराना पसल र कफी हाउसको रुपमा दर्ता गरेर डेरी पसलहरु सञ्चालन गरिरहेको पाइएको हो ।
बुधबार स्थानीय प्रशासन र विभिन्न निकायहरुले गरेको अनुगमनका क्रममा घोराहीका डेरी पसलहरु प्रचलित मापदण्ड विपरित सञ्चालन भएको पाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । घोराहीका राम्रा भनिएका करिब १० वटा डेरी पसलहरुमा अनुगमन गरीएको थियो । अनुगमनको क्रममा कतिपय डेरीहरु सम्बन्धित निकायहरुमा दर्ता नभई सञ्चालनमा भएको पाइएको छ ।