काठमाडौँ, २२ फागुन । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् ।

jhalanath-khanalखनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आश्वस्त पारिरहेका छन् । खनाल अघिल्लोपटक पनि राष्ट्रपतिको आकांक्षी थिए । केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उपाध्यक्ष वामदेव गौतम पनि खनाललाई राष्ट्रपति बनाउन लागेका छन् । उनले पार्टी बैठकमा खुलेरै खनाललाई समर्थन गर्ने बताइसकेका छन् ।

Rastrapatioउता, प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट पुनः अवसर दिने ‘ग्रिन सिंग्नल’ पाइसकेकी राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी छिन् । उनले टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘लबिङ’ तीव्र पारेकी छिन् । खुला लबिङ गर्दा पदीय मर्यादामा आँच पुग्ने कुराप्रति सचेत देखिएकी भण्डारीले भित्र–भित्रै टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘क्याम्पेनिङ’ चलाएकी हुन् । नयाँ पत्रिकामा खबर छ- उनी ओली र नेता माधवकुमार नेपालको सहयोगमा पुनः दोहोरिनेमा आश्वस्त छिन् ।

उम्मेदवार टुंग्याउन आज स्थायी समिति
एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकको एजेन्डाबारे भने नेताहरूलाई जानकारी दिइएको छैन । ‘बैठक बोलाइएको जानकारी आएको छ, तर एजेन्डा बताइएको छैन,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘भोलि राष्ट्रपतिको उम्मेदवार मनोनयन भएकाले सम्भवतः त्यही एजेन्डामा छलफल हुन सक्छ ।’