तुलसीपुर, २२  फागुन । बारुद बलाष्ट गरि माछा मार्न खोज्दा पश्चिम दाङमा एकजना जनप्रतिनिधिका दुबै हातका पञ्जा गुमाएका छन् । बबई गाउँपालिका १ का वडा सदस्य कमल घर्तीले दुबै हातका पञ्जा गुमाएको प्रहरीले बताएको छ । मलैखोला निवासी ३५ बर्षीय घर्तीले आइतवार दिउँसो बबई नदीमा बलाष्ट गरि माछा मार्नका लागि बारुद बनाउँदै क्रममा बारुद विष्फोट हुँदा उनी घाईते भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रयाग नारायण चौधरीले बताए ।

घर्तीका हातका दुबै पञ्जा चुडिएका थिए । नेकपा एमालेबाट निर्वाचित वडा सदस्य घर्ती गम्भीर घाइते भएको खबर आएपछि आफुहरु आइतवार बेलुका ६ बजे बबई नदीको भालुखोलास्थित घटनास्थल पुगेर घर्तीको उद्धार गरि राप्ती अञ्चल अस्पताल तुलसीपुर उपचारका लागि पठाएको सई चौधरीले बताए ।

घर्तीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।