इन्द्रेणी संवाददाता
दाङ, १७ पुस । गाउँपालिकाको केन्द्र सार्ने नसार्नेको विवाद हुदै आएको दाङको बबई गाउँपालिकाको केन्द्र साविककै स्थानमा राख्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतमा परेको रिट निवेदनमाथि छलफल गर्दै सोमबार अदालतले केन्द्र नसार्न आदेश जारी गरेको हो ।
केही दिन अगाडि गाउँपालिकाको कार्यालय हंसपुरबाट हापुरे सारिएको थियो । अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र ईश्वरराज आचार्यको इजलासले तत्काललाई केन्द्र नसार्न आदेश जारी गरेको हो ।
साविककै गाउँपालिकाको कार्यालय रहेको हंसपुरबाट काम गर्न पनि अदालतले आदेश जारी गरेको छ । बबई गाउँपालिकामा केन्द्र सारिएको विषयमा विवाद भएपछि अदालतसम्म पुगेको थियो ।











