दाङ, २३ कार्तिक । त्रिपुर नगरपापिलका ६ रमनामा खेलकुद रंगशाला निर्माण गरिने भएको छ । स्थानीयबासीहरुको सहयोग र युवाहरुको सक्रीयतामा रंगशाला निर्माण हुने भएको हो । रमनामा क्रियाशील अटल युवा क्लबको सक्रीयतामा स्पोटर्स भिलेजको लागि खेलकुद रंगशाला निर्माण गरिने भएको हो । जसलाई अभियानको रुपमा अगाडी बढाईने भएको छ ।
रंगशाला निर्माण अभियानको आज एक औपचारिक कार्यक्रम गरि घोषणा गरिएको छ । ग्रामिण क्षेत्रमा खेल जगतको विकास गर्न खेलकुल रंगशाला निर्माण गर्ने अभियान सुरु गरिएको क्लबले बताएको छ । त्रिपुर नगरपालिका ६ रमनामा करिब १० करोड रुपैयाँको लगानीमा पाँच बर्ष भित्र खेलकुद रंगशाला निर्माण गर्ने योजना रहेको छ ।
अभियानको घोषणा क्लबका अध्यक्ष राजकुमार भण्डारीले प्रतिवेदन मार्फत गर्नुभएको थियो । अध्यक्ष भण्डारीले यसवर्षको भैलोबाट संकलन भएको रकममध्य ५० हजारबाट रंगशाला निर्माण अभियान सुरु भएको घोषणा गर्नुभयो । कार्यक्रममा क्लबको बारेमा जानकारी दिदै उहाँले २०५३ सालमा स्थापना भएर खेलकुद र सामाजिक विकासमा लागेको क्लबले बाटो मर्मत, बाटो निर्माण, मन्दिर निर्माण, चौतारा निर्माण गरेको जानकारी दिनुभयो । साथै समाजमा सकारात्कम पक्षको विकासकालागी पनि विशेष भुमीका निर्वाह गरेको उहाँको भनाई छ । साथै स्थानीय समुदायको सहयोगमा क्लबको भवन निर्माण गरेको पनि बताउनुभयो ।
साथै रमनामा रहेको सांस्कृतिक, सामाजिक, प्राकृतिक, भौगोलिक संरक्षणकालागी लागीपरेको उहाँको भनाई छ । उहाँले रंगशाला निर्माणकालागी स्थानीयबासी, खेलप्रेमी, समाजसेवी, खेलकुद मन्त्रालय, संघसंस्था, राजनितिक दलका साथै वैदेशीक रोजगारमा गएका स्थानीय युवाहरुको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष राजकुमार भण्डारीकोको अध्यक्षता एवं त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिं थापामगरको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम र प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको बिशिष्ट आतिथ्यतामा भएको रंगशाला निर्माण अभियान घोषणा कार्यक्रममा बोल्ने वक्ताहरुले ग्रामीण स्तरमा स्थानीयबासीको सक्रीयतामा रंगशाला निर्माण गर्नु प्रंशसायोग्य कार्य भएको भन्दै यसमा सबैले साथ र सहयोग गर्नुपर्ने बताएका थिए । उनीहरुले समुदाय स्तरबाट सुरु भएको अभियानमा सरकारी, गैरसरकारी संघसंस्थाको पनि सहयषेग हुन आवश्यक भएको बताए । उनीहरुले सबै एक भएर युवाहरुले थालेको अभियानलाई साझा बनाउनुपर्ने बताए ।
कार्यक्रममा गढीटाकुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरा केसी, खानेपानी हापुर विजौरी स्कीम नम्बर २ का अध्यक्ष टेकबहादुर भण्डारी, आधारभुत विद्यालय हापुर गुज्रेका प्रध्यानाध्यापक श्रवणकुमार केसी, क्लबका सदस्य श्रीधर कुमारराज भण्डारी, क्लबका सल्लाहकार गोवद्र्धन योगीले क्लबले थालेको अभियानको सफलताको शुभकामना दिनुभएको थियो । क्लबका सदस्य विनोद केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण क्लवका कोषाध्यक्ष नरेश खड्काले गरेका थिए ।











