दक्षिण कोरियामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेर बसेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सोल सिंन्छोंनस्थितमा रहेको ‘काठमाडौ रेस्टुरेन्ट’का संचालक मनोज डांगी आफ्नै निवासमा मृत फेला परेका हुन् ।
मंगलबार अपराह्न चारबजे रेस्टुरेन्ट नजिकै रहेको निवासमा उनलाई मृत अवस्थामा भेटिएको थियो । डांगीका छोराले झुन्डीरहेको अवस्थामा उनलाई देखेको परिवारका सदस्यले बताएका छन ।
मृतक डांगीको शव सोलको होमोनदोङ स्थित दोङ्सिन अस्पतालमा राखिएको छ । सोधपूछका लागि नियन्त्रणमा लिएका उनकी श्रीमती र छोराहरुलाई प्रहरीले राति अबेर छोड़ेको छ । डाँगीको प्रहरी रिपोर्ट बुधबार उपलब्ध हुने सोलस्थित श्रम सहचारी देवराज ढकालले बताए ।
सामाजिक कार्यमा सक्रिय तथा विभिन्न संघसस्थामा आवद्ध भएका डाँगीको मृत्युलाई कोरियामा आशंका सहित हेरिएको छ ।
पुर्खौली घर संखुवासभा भएका डांगीले ललितपुर ग्वार्खोमा बसाई सारेका थिए । २००९ देखि कोरियामा रेस्टुरेन्ट संचालन गरिरहेका डांगी अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरका अध्यक्ष हुन । डांगीले एनआरएन कोरियाको एक कार्यकाल कोषाध्यक्ष पद सम्हालेका थिए ।४१ वर्षका डाँगीकी श्रीमती, २० वर्ष र १४ वर्षका दुई छोरा छन् ।











