काठमाडौं, ७ भदौ । लेबनानले नेपाली कामदारमाथि फेरि प्रतिबन्ध लगाएको छ । श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका लागि बनाएको कार्यविधि तथा निर्देशिकामा असहमती जनाउँदै यी शर्त मानेर नेपाली कामदार लिन नसकिने जनाएको हो । लेबनानको श्रम मन्त्रालयले नेपाली कामदारलाई अनुमति नदिइने सूचना नेपाली नियोगलाई जानकारी गराएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाईंले लेवनानले एकतर्फि रुपमा कामदार नलिने निर्णय गरेकाले यसबारे आधिकारीक बुझेर मन्त्रालयले निर्णय गर्ने बताउनुभयो । उहाँका अनुसार श्रम मन्त्रालयलाई आधिकारिक रुपमा जानकारी आएको छैन् । नेपालबाट लेवनानमा विशेषगरि महिला रोजगारीका लागि जाने गरेका छन् ।
अहिले १० हजार नेपाली रहेकोमा झण्डै ९ हजार महिला कार्यरत छन् । सरकारले तय गरेको कार्यविधिमा कामदार मगाउने एजेन्सी वा प्रतिनिधिले जनही हजार डलर धरौटी राख्नुपर्ने, बिमा सुरक्षा तथा अन्य सेवा–सुविधाको हकमा करार पत्रमा उल्लेख गर्नुपर्नेलगायत नियम छ । लेबनानले नेपालसँग पटक–पटक प्रतिबन्ध लगाउँदै र खोल्दै आएको छ ।











