काठमाण्डौ, ८ बैशाख
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका एक केन्द्रीय परिषद सदस्य उदय राई विप्लव माओवादीमा प्रवेश गरेका छन् । मोरङको बेलबारी १, नक्सलबारी घर भएका उदय राईले मंगलबार नयाँ शक्ति छाडेको घोषणा गरेका हुन् ।
चावहिलस्थित पशुपति क्याम्पसमा आयोजना गरिएको विप्लव माओवादी समर्थित युवाहरुको जिल्ला सम्मेलनमा राईलाई कलाकार माइला लामाले अवीर लगाएर नयाँशक्ति छोडाएका हुन् । भेलामा बोल्दै राईले आफूलाई नयाँ शक्तिमा डा. भट्टराईले नसोधिकन राखेको बताए ।
नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य बन्नुअघि राई एमाओवादीमा थिए । एमाओवादीमा लाग्नु अघि नेकपा एकीकृतमा रहेका उनी त्यसअघि चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चामा थिए । यसैवीच एमाओवादी नेता झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी पनि आफ्ना बाबुको पार्टी छाडेर विप्लव माओवादीमा प्रवेश गरिसकेका छन् ।
त्यसैगरी कृष्णबहादुर महराका छोरा तथा पूर्व लगाकू एटम महरासँग पनि विप्लव माओवादीका नेताहरुले छलफल अघि बढाएको स्रोतले बतायो । यसैवीच मंगलबार राति सम्पन्न विप्लव माओवादीको युवा संगठनको भेलाले पूर्वलडाकू रामबहादुर लामा, प्रखरको नेतृत्वमा ५१ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रवि गोले र सूर्य भुजेल छन् भने सचिव, सहसचिव र कोषध्यक्षमा क्रमशः रामकृष्ण खतिवडा, वालकृष्ण महर्जन र सन्तोषी महर्जन छन् ।।