दाङ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३/०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३/०८४ को बार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नहरुको जवाफ दिदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए ।
विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गरेका थिए। आजको बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नुभएको थियो भने मन्त्री तिमिल्सिनाले जवाफ दिएका थिए । बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गरेका थिए ।











