नेपालगन्ज । बाँके जिल्लामा सर्वसाधारणले ७५ थान इजाजत प्राप्त बन्दुक प्रहरीलाई बुझाएका छन् । आसन्न चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको जारी गरेको सूचनालाई अनुशरण गर्दै सर्वसाधारले बन्दुक बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतका स्थानमा हालसम्म ७५ थान हातहतियार बन्दुक जम्मा भएका छन् ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई ध्यान दिएर जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार ५५५ जना व्यक्तिले हतियार राख्न लाइसेन्स (इजाजत) लिएका छन् ।











