इन्द्रेणी संवाददाता
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोप बहादुर रायमाझीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिगो बराबरको रकम बैंक ग्यारेन्टी बुझाएर धरौटीमा छुटेपछि रायमाझीले पनि आफूलाई बिगो बराबरको रकम बैंक ग्यारेन्टी बुझाएर छाड्नुपर्ने मागसहित आज निवेदन दिएका हुन् । उनले जिल्ला अदालतमा माग गरेपनि उनको माग अस्विकार गरेको थियो ।

उच्च अदालत पाटनले आज उक्त निवेदनमा जिल्लाको कैफियत प्रतिवेदनसहितका मिसिल झिकाउन आदेश गरेको अदालत प्रशासनले जनाएको छ। मिसिल प्राप्त भएपछि मात्रै रायमाझीको आवेदनमा सुनुवाइ हुने उच्चले जनाएको छ ।