दाङ । दाङका घोराही र सोनापुर सिमेन्ट उद्योगले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता बुझाएका छन् ।
प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता बाफत दुई करोड ६७ लाख ९१ हजार ९७६ रुपैयाँ बुझाएपछि काटिएको लाइन जडान गरिएको नेपाल विद्युत् प्रधिकरण घोराही शाखाले जनाएको छ । शाखा इन्जिनियर नन्दलाल शर्माका अनुसार तुलसीपुर उपमहानगरपालिका–१८, दुधरासमा रहेको सोनापुर मिनरल एन्ड आयल प्रालिले मंगलबार र घोराही उपमहानगरपालिका–४, गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगले बुधवार विद्युत् महसुलको पहिलो किस्ता बुझाएपछि काटिएको विद्युत् जडान गरिएको छ ।
सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरेर सोनापुर मिनरले पहिलो किस्ता ८६ लाख ३० हजार बुझाएको हो । त्यसैगरी घोराही सिमेन्ट उद्योगले बुधबार पहिलो किस्ता बाफत एक करोड ८१ लाख ६१ हजार ९७६ रुपैयाँ ४८ पैसा विद्युत् महसुल तिरेको छ । घोराही सिमेन्ट उद्योगको बक्यौता ५० करोड ८५ लाख ३५ हजार ३४२ छ ।
लामो समयसम्म विद्युत् महसुस नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ७ गते सोनापुर मिनरल एन्ड आयल प्रालि र कात्तिकको ४ गते घोराही सिमेन्ट उद्योगको बिजुली लाइन काटिदिएको थियो।











