इन्द्रेणी संवाददाता
दाङ । नेकपा एमाले दाङले आज शान्तिपूर्ण जागरण अभियान भन्दै घोराहीमा प्रदर्शन गरेको छ । एमाले निकट २३ वटा जनवर्गीय संगठनले प्रर्दशन गरेका हुन् । ट्राफिक चोकबाट सुरू भएको प्रदर्शन घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले यो र्याली मुलुकमा स्थायी शान्तिका लागि भएको भन्दै जेनजी आन्दालनको क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नमाथि छानविन गरी कारवाही हुनुपर्ने बताए । जेनजी आन्दोलनपछि पहिलो पटक सडकमा उत्रिएको एमालेलाई कम्जोर नठान्न समेत इन्चार्ज बुढाथोकीले चेतावनी दिएका थिए ।

त्यस्तै राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेनजीका मागप्रति युवा संघ सकरात्मक भएको तर जेनजीका नाममा भएका अराजक गतिविधि युवासंघलाई स्वीकार्य नहुने बताएका थिए ।

प्रदर्शनमा शान्ति सुरक्षा कायम गर, जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका दोषिलाई कारवाही गर, देशमा अस्थिरता होइन स्थायी शान्ति कायम कायम गरलगायतका नारा लगाइएको थियो । र्यालीमा जिल्लाका विभिन्न स्थानबाट आएका हजारौंको सहभागिता थियो । र्याली अघि विभिन्न सवारीका साधनमा आएर नेता कार्यकर्ताहरु घोराहीमा जम्मा भएका थिए ।