काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् ।
भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने भन्दै आफूहरु फागुन २१ नपर्खने समेत बताए ।बताएका हुन् । ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि बताए । ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ,’ उनले भने ।
अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई नक्कली आयोेगको संज्ञा दिँदै यसलाई अस्वीकार गर्ने पनि घोषणा गरे ।
‘मजाको छ…! पहिले नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा (नाटक) गर्नुभएको छ। मजाको छ ड्रामा…!’, ओलीले भने, ‘पहिले नै केपी ओली समाउनुपर्छ भन्ने आयोग बनाएर त्यसले छानबिन गरेर प्रतिवेदन दिएर अगाडि बढ्यौं भन्ने यस्ता नाटक एमालेलाई मञ्जुर छैन। स्वीकार्य छैन।’ अध्यक्ष ओलीले आफ्नो सम्पत्ति १० पटक छानबिन गर्न चुनौती दिए।
