काठमाडौं । भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालयहरूमा भएको आगजनीमा अभिलेखहरू जलेर ध्वस्त भएपछि सर्वसाधारणले नयाँ जग्गाधनी दर्ता स्रेस्ता बनाउनुपर्ने भएको छ । अभिलेखहरू जलेर ध्वस्त भएपछि खास गरेर डिजिटलाइज नभएका ठाउँमा जग्गाधनी स्रेस्ता बनाउन लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्नेछ ।

नयाँ जग्गाधनी स्रेस्ता बनाउन विभिन्न मालपोत कार्यालयले ११ थरी कागजपत्र लिएर निवेदन दिन सर्वसाधारणलाई सूचना जारी गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्यका अनुसार जेन–जी आन्दोलनको क्रममा २१ वटा मालपोत कार्यालयमा क्षति पुगेको छ । त्यसमध्ये कतिपय कार्यालयमा अभिलेख जलेपछि भूमि प्रशासन निर्देशिका, २०८१ अनुसार नयाँ स्रेस्ता बनाउने प्रक्रिया अघि बढाइएको छ । मालपोत कार्यालय, कलंकी, कास्कीलगायतले ११ थरी कागजपत्रसहित निवेदन दिन सूचना निकालेका छन् ।

नयाँ स्रेस्ताका लागि नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, सक्कल पुर्जा, सक्कल लिखतको प्रमाणित प्रति, फिल्डबुक नक्सा, मालपोत बुझाएको रसिद, रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकताअनुसार स्थलगत सर्जमिन, आवश्यकताअनुसार ३५ दिने सूचना, गुठी जग्गाको हकमा गुठी संस्थाको सहमतिपत्र र अन्य प्रमाणहरूसहित निवेदन दिन भनिएको छ ।

१० मालपोत कार्यालयमा धेरै क्षति
भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरिका २१ मालपोत कार्यालयमा क्षति पुगेकोमा १० कार्यालयमा ठुलो क्षति भएको छ । काठमाडौंको कलंकीसहित कास्की, भरतपुर, बाँके, दाङका घोराही र तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनी मालपोतमा आगजनी र तोडफोडका कारण ठुलो क्षति भएको छ । धेरै क्षति भएका मालपोत कार्यालयमा तत्काल सेवा सुरु गर्न कठिन भएको छ । बढी क्षति भएकामध्ये केहीले सेवा सुचारु गरिसकेको छन् भने केहीले गर्न सकेका छैनन् ।