काठमाडौँ । ‘जेन–जी’ आन्दोलनका बेला विभिन्न कारागार र बन्दीगृह र प्रहरी हिरासतबाट भागेका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये अझै ६ हजार २ सय फरार छन् । फरारमध्ये करिब १ हजार विदेशी नागरिक छन् ।
२४ भदौमा २८ वटा कारागार/बालसुधार गृह र डेढ सयभन्दा बढी प्रहरी हिरासतमा तोडफोड र आगजनी भएको थियो ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार जेल तोडेर भागेका कैदीबन्दीमध्ये बुधबार साँझसम्म करिब ७ हजार ४ सय ४३ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार हिरासत कक्षबाट भागेकामध्ये करिब ४ सय थुनुवा पक्राउ परेछन् । उनीहरूमाथि हिरासत कक्ष फोडेर विध्वंस मच्चाएको अभियोगमा समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
भागेका कैदीबन्दीमा लागूऔषध, हत्या, लुटपाट, बलात्कार, तस्करी, भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी प्रकरण, विदेशी मुद्रा तस्करीलगायत अभियोगमा दोषी ठहर र पुर्पक्षमा रहेकाहरू छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत भागेका थिए । तर रायमाझी, पाण्डे र राई कारागार फर्किसकेका छन् ।











