काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जीको प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ८ हजार ८१६ कैदीबन्दी अझै फरार रहेका छन् ।

विभिन्न २७ कारागारबाट १३ हजार ५९१ र ९ बालसुधार गृहबाट ९६४ जना कैदीबन्दी भागेका थिए । अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४९५ र बालसुधार गृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिएका छन् । अरु फरार रहेका कैदीबन्दीको खोजी भइरहेको विभागले जनाएको छ ।

आन्दोलनका क्रममा कतिपय कैदीबन्दीले कारागारका भौतिक संरचना भत्काउनुका साथै आगजनी समेत गरेका थिए । जेलबाट भाग्न खोज्दा केही सेनाले चलाएको गोली लाग्दा कैदीबन्दीको ज्यान समेत गएको थियो ।