काठमाडौँ । भदौ २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका युनिटबाट करिब ११ सय थान हतियार हराएको बताइएको छ ।
प्रदर्शनका क्रममा करिब ११ सय थान हतियार हराएको गृहमन्त्रीलाई रिपोर्टिङ गरिएको छ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार प्रहरीका युनिट इन्चार्जहरूलाई निर्देशन दिने क्रममा ११ सय थान हतियार हराएको जानकारी दिइएको थियो ।
प्रदर्शनका क्रममा एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका हतियार लुटिएको प्रहरी अधिकृतहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका वृत्तहरूबाट पनि ठुलो सङ्ख्यामा हतियार लुटिएको बताएका छन् । लुटिएका मध्ये १६० थान हतियार भेटिएका छन् ।
प्रहरीका युनिटहरू आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन् । अहिलेसम्म देशभरबाट २६८ नाल हतियार बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।











