तुलसीपुर । हिन्दू नारीहरुको महान पर्व तीज नजिकिदैछ । यतिबेला विभिन्न महिला समूह, संघ संस्थालगायतले समय मिलाएर दर खाने कार्यक्रमहरु गरिरहेका पनि छन् । तर पछिल्लो समय दर खाने कार्यक्रमहरु भड्किलो बन्दै गएको भन्दै आलोचना पनि भइरहेका छन् । बिहीबार तुलसीपुर–९ मा रहेको मावि दोघरेको दर कार्यक्रमले त्यही आलोचनालाई थप पुष्टि गरेको छ ।
बिहीबार विद्यालयमा ४ बजेसम्म अध्यापन हुनुपर्ने हो तर १२ बजेअघि नै विद्यार्थीलाई घर फर्काएर शिक्षक तथा कर्मचारीहरु तुलसीपुरको एक होटलमा दर खान हिंडेपछि विद्यालय परिसर सुनसान भयो । स्थानीय तथा सरोकारवालाहरुले विद्यालय समयमा विद्यालय सुनसान भएको भन्दै खबर गरेपछि पत्रकारको टोली विद्यालय प्रांगणमा पुग्यो । जहाँ विद्यालयको मूलगेट खुलै छोडिएको थियो भने अफिसदेखि कक्षाकोठा सबैमा ताल्चा ठोकिएको थियो । त्यसपछि पत्रकारको टोलीले विद्यालयका प्रधानाध्यापक सुनिता यादवलाई फोन ग¥यो । पत्रकारले फोन गरेको १५ मिनेटमा हतारिदै केही शिक्षकहरु त्यहाँ आइपुगे । प्रअ यादवले डेढ बजेसम्म विद्यालय सञ्चालन गरिएको र त्यसपछि नास्ता खानलाई होटल गएको बताउनुभयो । उनले भने– ‘आज हाम्रो कार्यक्रम विद्यालयको नयाँ भवनमा थियो । शुक्रबार रिजल्ट निकाल्ने तयारीमा छौं । त्यसैले डेढ बजे विद्यार्थीलाई घर पठाएर नास्ता खान गएका थियौं ।’ यद्यपि विद्यालय समयभित्र विद्यालयको कक्षामा ताल्चा ठोकेर नास्ता खान जाने कुरा नीतिसम्मत हो कि होइन अहिले विद्यालय प्रशासनमाथि उठेको प्रश्न छ ।
विद्यालयमा यस्ता खालका मनोमानी विभिन्न समयमा भइरहेको भन्दै तुलसीपुर–९ का वडाध्यक्ष घनश्याम ढकालले १२ बजेअघि नै विद्यालय बन्द गर्दा वडा कार्यालय वा शिक्षा महाशाखा कतै पनि समन्वय नै नगरी प्रअ यादवले मनोमानी ढंगले विद्यालय बन्द गरेको बताए । ‘मैले अभिभावकहरुले फोन गरेपछि जानकारी पाएँ । आफ्नो वडाको विद्यालय भएपछि जानकारी त लिनै प¥यो । विद्यालयमा पुगें, बन्द थियो । के भएको रहेछ त भनेर शिक्षा महाशाखामा बुझें । त्यहाँ पनि कुनै जानकारी नगराइएको भन्ने जवाफ आयो’– उनले भने– ‘यो विद्यालय प्रशासन कहाँबाट चलेको छ ? शिक्षा महाशाखामा जानकारी छैन, वडा कार्यालयमा जानकारी छैन, विव्यस अध्यक्षलाई जानकारी छैन । प्रधानाध्यापक एक्लैको मनोमानीले विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने निर्णय गर्ने हो भने जनप्रतिनिधि तथा राज्यका नियामक निकायको काम के हो ?’ गत शैक्षिक सत्रको एसइई परीक्षामा ३८ जना विद्यार्थीले परीक्षा दिएकोमा मात्रै उत्तीर्ण भएका थिए । यही मनोमानी प्रवृत्तिको उपज भएको वडाध्यक्ष ढकालले बताए ।
विद्यालय बन्द गरेको विषयमा आफू जानकार नभएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकूद महाशाखाका प्रमुख चक्र भण्डारीले बताए । विद्यालय बन्द गर्नुपर्ने भएमा कारणसहित जानकारी गराउनुपर्ने हुन्छ । सूचना नै नगरिकन पढाइ हुनुपर्ने समयमा विद्यालय बन्द गर्नु गलत भएको भन्दै यसो भएको रहेछ भने नियमानुसार कारवाही हुने उनले बताए । उनले भने– ‘बिहीबार विद्यालय १२÷१ बजेअघि नै बन्द गर्ने भन्ने कुराको सन्दर्भ नै मिल्दैन । सरकारी विद्यालय आफ्नो मनोमानीढंगले चलाउन पाइँ‘दैन । यदि त्यस्तो कुनै परिस्थिति भए शिक्षा महाशाखामा जानकारी गराउनुपर्ने हो तर अहिलेसम्म कुनै जानकारी आएको छैन । हामीले त्यो विषयमा छानविन गर्छौं ।’
विद्यालय समयभन्दा अगावै विद्यालय बन्द गरेको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी पनि जानकार छैनन् । विव्यस अध्यक्ष गिरीले बताएअनुसार पत्रकारले फोन गरिसकेपछि परिस्थितिलाई ढाकछोप गर्न प्रअ यादवले जानकारी गराएको प्रष्ट हुन्छ । ‘मलाई प्रधानाध्यापक म्याडमले ४ बजेतिर फोन गरेर सर हामी विद्यालयमै छौं । केही छलफल गर्नुपर्नेछ, आउनुस् भन्नुभएको थियो तर म जान भ्याइनँ । विद्यालय १२÷१ बजे नै बन्द गरेको विषयमा त मलाई कुनै जानकारी छैन तर त्यो गलत कार्य हो’– उनले भने– ‘यो विद्यालयमा यस्तो मनोमानी चलिरन्छ । म विव्यस अध्यक्ष भएको ६ महिना पुगिसक्यो तर विद्यालयको खातामा कति रकम छ भन्ने विषयमा जानकार छैन । विद्यालयको खाता सञ्चालनमा विव्यस अध्यक्ष र प्रअको हस्ताक्षर हुनुपर्ने हो । त्यो पनि भएको छैन । आर्थिक कारोबारमा पनि मनोमानी छ, यहाँ ।’
विद्यालयमा हुने खरिदमा पनि निर्णय गर्नु पहिला नै खरिद गर्ने र पछि निर्णय गर्ने काम भइरहेको र खरिद बिक्रीमा विव्यसलाई कुनै जानकारी नहुने गरेको अध्यक्ष गिरीले बताए । नयाँ युगबोधबाट











