गोकर्ण दयाल
बैतडी । स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई अनमीले लगातार सात घण्टासम्म मुखले कृत्रिम श्वास दिएर बचाउन सफल भएकी छन् । बैतडीको सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाएकी हुन् ।
गत बिहीबार स्वास्थ्य केन्द्रमा प्रसूति व्यथा लागेर आएकी सोही वडाकी २० वर्षीय लक्ष्मी धामीले राति ९ बजेर ३३ मिनेटमा निसासिएको अवस्थामा शिशु जन्माएकी थिइन् । शिशुले श्वास फेर्न नसकेपछि राति साढे ९ बजेदेखि बिहान ४ बजेसम्म कृत्रिम श्वास दिएर शिशुको ज्यान जोगाउन सफल भएको अनमी पुजाराले बताइन् । उनले भनिन्, “आधारभूत स्वास्थ्य केन्द्रमा कृत्रिम श्वास दिन एउटा एम्बुबेगबाहेक कुनै उपकरण थिएन । यो पनि नमिल्ने भएपछि मुखले नै शिशुलाई कृत्रिम श्वास दिएर बचाउन सफल भएँ । सुविधा भएको अस्पताल लैजान गाउँमा बाटोघाटो र यातायातको सुविधा छैन । स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण पनि छैनन् ।”
अहिले नवजात शिशु र सुत्केरीको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य केन्द्रबाट घर फर्किनुभएकी सुत्केरीलाई नियमित जाँच गर्न घरमै पुगेर सेवा दिइरहेको अनमी पुजाराले बताइछन् । उनले आफूले गरेको कार्यले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले चौतर्फी प्रशंसा पाउँदा खुसी लागेको बताइन् ।
अनमी पुजारा स्वास्थ्य केन्द्रमा करारमा कार्यरत रहेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक घनश्याम बोहराले बताए । उनले अनमी पुजाराको उच्च मूल्याङ्कन भएको बताए । उनले भने, “अनमी पुजाराले निकै ठुलो हिम्मत राखेर शिशुको ज्यान जोगाउनुभयो । उहाँले शिशुको स्वास्थ्य अवस्थाका बारेमा राति नै फोनमार्फत जानकारी गराउनुभएको थियो । रातिको समय भएकाले होलिकोप्टरबाट उद्धार गर्न सम्भव भएन । अन्यत्र पठाउन पनि ८र१० घण्टा हिँडेर मात्र सडकमा पुग्न सकिने अवस्था छ । यस्तो सङ्कटका बेला रातभरि जाग्राम बसेर शिशुको ज्यान बचाउनुभयो । उहाँलाई धन्यवाद छ ।”
आठ वर्षमा पनि बनेन अस्पताल
एक पालिका, एक अस्पतालको नारा सार्वजनिक भए पनि सिगास गाउँपालिकामा गएको आठ वर्षसम्म अस्पताल बन्न सकेको छैन । जग्गाको खोजी गरेर भर्खरै अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम सुरु भएको स्वास्थ्य शाखा संयोजक घनश्याम बोहराले बताए। उनले गाउँपालिकामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा करारका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिरहेको बताए । करारका स्वास्थ्यकर्मीले राम्रो काम गरे पनि प्रदेश सरकारले मूल्याङ्कन नगरेको उनले बताए ।
सिगास गाउँपालिकाका नौ वटै वडामा छ वटा स्वास्थ्यचौकी, चार आधारभूत स्वास्थ्यचौकी, एक सामुदायिक स्वास्थ्य एकाइ र स्वास्थ्य संस्थाबाहेक १० वटा प्रसूति केन्द्र गरेर २१ वटा स्वास्थ्य संस्था रहेका छन् ।
पालिकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये करारमा ३२ जना स्थायी दरबन्दीमा २१ जना कार्यरत छन् । करारका स्वास्थ्यकर्मीका लागि प्रदेश र सङ्घ सरकारबाट तलब सुविधा नआउँदा गाउँपालिकाले वार्षिक करिब डेढ करोड रुपियाँ खर्च गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताइएको छ । गोरखापत्रबाट











