इन्द्रेणी संवावदाता
दाङ । दाङका दुई पालिकाले भोलि मंगलबार सार्वजनिक बिदा दिएका छन्। भोलि नागपञ्चमी, थारु समुदायको गुरही पर्व र यादव समुदायले गुडिया पर्वको अवसरमा राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
यी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी गुरही पर्व र गुडिया पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् । राप्ती गाउँपालिकामा थारु समुदायको बाक्लो बसोबास छ भने गढवामा यादव समुदायको बसोबास छ ।
थारु समुदायले गुरही पर्वलाई जेठो पर्वको रुपमा मनाउँछन् । यो पर्वमा भूतप्रेत मन्साउने भन्दै पूजाआजा गरिन्छ । गुरही र नागपञ्चमी एकै दिन परेकाले एउटै पर्वको रुपमा व्याख्या गरिएतापनि नागपञ्चमीम सर्पको पूजा गरिन्छ भने थारु समुदायले गुरही पर्वमा गाइने किराको पूजा गर्ने गर्दछन् ।
त्यस्तै यादव सुमदायले यस दिनमा प्रकृति पूजा गर्ने सम्पूर्ण समुदायबाट नागको पूजा गर्ने गरिन्छ । साथै नागको पूजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पूजा गर्ने प्रचलन छ ।










