काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज एमाले पार्टी कार्यालय च्यासलमा समसामायिक राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ । विद्याले सक्रिय राजनीतिमा आउने घोषणा गरेपनि उनको पार्टी सदस्यता नविकरण थाँती राखेको भन्ने चर्चा भइरहेका बेला संचारकर्मीले उनलाई जिज्ञाशा राखेका थिए ।
सञ्चारकर्मीको जिज्ञासामा भण्डारीले पार्टी सदस्यता नवीकरणको जानकारी पार्टीको आधिकारिक च्यानलबाटै बाहिर आउने बताएकी थिइन् । ‘अध्यक्षसँग समसामायिक राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा मात्र कुरा भयो’, पार्टी सदस्यता नवीकरणबारे संचारकर्मीको जिज्ञाशामा भण्डारीले भनिन्,‘ बाँकी कुरा तपाईंहरुलाई आधिकारिक च्यानलबाटै थाहा हुन्छ।’
केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन ओली–भण्डारीबीच करिब दुई घण्टा एक्लाएक्लै छलफल भएको हो। भण्डारी कार्यालय पुग्ने भएपछि पछिल्लो समय उनीसँग निकट रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य कर्णबहादुर थापालगायतका नेताहरु पनि च्यासल पुगेका थिए।
यता विद्या निकट मानिएका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको प्रस्ट पारेका छन्। ‘सदस्यता नवीकरण गरिसकेको कुरा त हाम्रो पार्टीको महासचिवज्यूले नै कुनै अन्तर्वार्तामा भनिसक्नुभएको छ। महासचिवले आधिकारिक रूपमै भनिसक्नुभएको छ’,उनले भने ।











