बर्दिया । मोटरसाइकल दुर्घटनामा परी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) निधन भएको छ । मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा उनी दुर्घटनामा परेका थिए ।
विष्णु पौडेलले चलाएको भे १३ प ९३६७ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बसेका पत्रकार बस्याल घाइते भएका थियो । दुर्घटनामा परी गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल नेपालगञ्जमा ल्याइएकोमा उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्मरपालले बताए । मोटरसाइकल चालक पौडेलको भने बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।
बस्याल लामो समयदेखि पत्रकारितामा सक्रिय थिए भने नेपाल पत्रकार महासंघ बर्दियाको दुई कार्यकाल अध्यक्ष भइ नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत थिए ।











