बाँके । बाँकेको एउटा स्कुलबाटै विद्यार्थी हराएका छन् । कोहलपुर नगरपालिका –३ स्थित कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना विद्यार्थी हराएका हुन् ।
कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले बता ।
प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको छ । आफन्त र विद्यालयका अन्य बालकबाट प्राप्त केही सूचनाबाट उनीहरु भारत गएको आशंका गरिएको छ । तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको देखिन्छ । अरु दुई जनाको फेसबुक पनि सक्रिय अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।
स्कूलका प्रधानाध्यापक विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसोेसम्म स्कूलमै रहेकोमा करिब ४ः३० बजेतिर बाहिर निस्केको बताएका छन् । बालकहरु हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेको गुनासो आफन्तहरुले गरेका छन् ।











