काठमाडौं । सार्वजनिक ऋणको आकार २७ खर्ब नाघेको छ । जेठ मसान्तसम्म सरकारले तिनुपर्ने आन्तरिक र बाह्य ऋणको आकार २६ खर्ब ५४ अर्ब ६६ करोड थियो । सोमबारको मन्त्रिपरिषद्ले थप ५० अर्ब ५१ करोड ऋण स्वीकृत गरेसँगै सार्वजनिक ऋणको आकार २७ खर्ब पाँच अर्ब १७ करोड पुग्नेछ । चालू आवको सुरुदेखि नै सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेका छन् ।
सार्वजनिक ऋण व्यववस्थापन कार्यालयले बुधबार जारी गरेको तथ्यांकअनुसार चालू आवको सुरुमा यस्तो ऋण २४ खर्ब ३४ अर्ब नौ करोड थियो । तर, ११ महिना (जेठ मसान्तसम्म) दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थपिएको छ । यो ऋण कुल गार्हस्थ्य उत्पादन ९जिडिपी०को ४३.४७ प्रतिशत हो ।
जेठ मसान्तसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड र बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड पुगेको छ । गत असारसम्ममा यस्तो ऋण आन्तरिकतर्फ ११ खर्ब ८० अर्ब ९० करोड र बाह्यतर्फ १२ खर्ब ५३ अर्ब १९ करोड थियो । सो ऋणमध्ये जिडिपीको तुलनामा आन्तरिकतर्फ २२.३१ प्रतिशत र बाह्यतर्फ २४.२३ प्रतिशतबराबर हो । कार्यालयको तथ्यांक र नेपालको जनसंख्यालाई तुलना गर्दा प्रतिव्यक्ति ऋण ९१ हजार २४ रुपैयाँबराबर पुगेको छ । यस्तो ऋण जनताले प्रत्यक्ष रूपमा आफैँ तिर्ने भने होइन । तर, जनताबाटै उठाइने करबाट राज्यले ऋण तिर्ने हुँदा सार्वजनिक ऋणको भार जनतालाई अप्रत्यक्ष रूपमा पर्छ ।
चालू आवको ११ महिनामा सरकारले तीन अर्ब १४ अर्ब ९९ करोड आन्तरिक र ९९ अर्ब २० करोड रुपैयाँ बाह्य ऋण उठाएको छ । यही बिचमा सरकारले कुल दुई खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । जसमा आन्तरिकतर्फ दुई खर्ब २३ अर्ब ३५ करोड र बाह्यतर्फ ४३ अर्ब २९ करोड छ । विदेशी विनिमयदर हेरफेर हुँदा नेपाललाई ११ महिनामा ७३ अर्ब दुई करोड नोक्सान भएको कार्यालयले जनाएको छ । चालू आवमा सरकारले पाँच खर्ब ४७ अर्ब ऋण परिचालनको लक्ष्य लिएको छ आजको नयाँ पत्रिकामा खबर छ।
