हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा एक जना महिलाको ज्यान गएको छ । माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको हो।
निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खसेको थियो । घाइते भएकी २३ वर्षीया विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी घाइते बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका(४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका( ४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन्। उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।
