दाङ । दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला पाँच महिनापछि खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय र अखिल क्रान्तिकारीबिच पाँच बुँदे सहमति भएपछि ताला खुलेको हो ।
अखिल क्रान्तिकारी विभिन्न माग राख्दै २०८१ पुस १२ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय, अनुसन्धान केन्द्र, वाल्मीकि विद्यापीठलगायतमा ताला लगाएको थियो ।
सहमति अनुसार नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत छात्रछात्राको पठनपाठनलाई सहज गराउनका लागि आवश्यक पर्ने प्रयोगात्मक सामग्री यही असार मसान्तभित्र विनियोजन गरिएको बजेटबाट खरिद गरिसक्ने, ओपिडी सञ्चालन गर्नका लागि आवश्यक पर्ने जनशक्ति तथा सामग्रीको आवश्यक प्रक्रिया मिलाउन आगामी विश्वविद्यालय सभामा प्रस्ताव लैजाने सहमति भएको छ । नेसंविमा ताला लाग्नु नौलो विषय पनि होइन । यो विश्वविद्यालय हरेकको राजनीति गर्ने थलोजस्तै बनेको छ ।
