घोराही । प्रेस स्वतन्त्रताको रक्षा तथा श्रमजीवी पत्रकारको हकहित सुनिश्चित गर्न प्रेस सेन्टर नेपाल, दाङ शाखाले सरकारलाई १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

सेन्टर दाङका अध्यक्ष जनक नेपालीको नेतृत्वमा गएको टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राज्य र गैर–राज्य पक्षबाट पत्रकारमाथि भइरहेको आक्रमण, सञ्चारगृहमा भएको क्षति र पेशागत असुरक्षाका घटनाले संविधानद्वारा सुनिश्चित पूर्ण प्रेस स्वतन्त्रताको हनन भइरहेको उल्लेख गरिएको छ।

प्रेस सेन्टरले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको कथित राजावादी समूहद्वारा जिउँदै जलाएर हत्या गरिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै, रजकलाई शहीद घोषणा गरी उनका परिवारलाई राहत प्रदान गर्न आग्रह गरिएको छ। प्रेस सेन्टर नेपाल नेकपा माओवादी केन्द्रप्रति झुकाव राख्ने पत्रकारहरुको संगठन हो ।