काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा शुक्रबार बिहान वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो नै देशका उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुने पनि महाशाखाको पूर्वानुमान छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहने छ। अहिले बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको पनि छ ।