काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
सोही सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सत्तारुढ दल एमाले र काग्रेसबीच कुरा नमिल्दा लामोसमयदेखि गर्भनर नियुक्तिमा ढिलाइ भएको थियो ।
अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर २०७९ सालमा पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । चितवन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी चुनावमा भने रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए ।











