दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन् ।

राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारेका हुन् ।

“हामीले ल्याउँदै गरेको नीति तथा कार्यक्रममा कृषिमा संलग्न उद्यमीहरूलाई अझ प्रेरणा प्रदान गर्ने र सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएका छौं”, उनले भने, “तपाईंहरूको भावना बुझेर, भावना छुनेगरी योजनालाई कार्यक्रममार्फत कार्यान्वयन गर्दैछौं । उद्यमीहरूका निम्ति पनि उद्यमीमैत्री कार्यक्रमहरू अघि बढाउने सोच र लक्ष्यसहित काम गरिरहेका छौं ।”

मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश सरकार सधैं साथमा रहेको बताउँदै उच्च मनोबलका साथ व्यवसायमा दत्तचित्त भएर अघि बढ्न आह्वान गरे । आधारभूत वर्गलाई उत्पादन कार्यसँग नजोडिएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने स्पष्ट पार्दै स्थानीय उत्पादन बढाउन र त्यसमा आधारभूत वर्गको अनिवार्य सहभागिता आवश्यक रहेको मुख्यमन्त्री आचार्यको धारणा थियो ।

“हामी उत्पादन कार्यसित नजोडिएसम्म मुलुकको विकास सम्भव छैन । गाउँको विकास पनि सम्भव छैन । यो कुरा सरकारले राम्रोसँग बुझेको छ”, मुख्यमन्त्री आचार्यले भने, “हाम्रा आधारभूत तहका जनताको जीवनस्तर माथि उठाएनौं भने मुलुकको समग्र विकास सम्भव छैन ।”

व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको उल्लेख गर्दै उनले व्यवसायको विकासका लागि बनाइएका कानुन, नीति, नियम, कार्यविधिहरू बाधक भएमा सुधार गर्न सरकार तयार रहेको जानकारी दिए ।