कपिलवस्तु । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ। आज शुक्रबार बिहान करिब ५ः४५ बजे बुद्धभूमि नगरपालिका–१ बसन्तपुर पत्थरकोट–गोरुसिंगे सडक खण्डमा दुर्घटना भएको हो ।
पत्थरकोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले दुई महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
प्रहरी निरीक्षक विराट शर्मा पौडेलका अनुसार कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










