काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले नेपाल-भारत सीमा क्षेत्रमा गस्ती बढाउनुका साथै चेक प्वाइन्टहरू राखेको छ । भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा हुन सक्ने घुसपैठलाई ध्यानमा राख्दै गस्ती बढाउनका साथै सीमामा चेक प्वाइन्ट बनाएर कडाइ गरेको हो ।
सशस्त्र प्रहरीले ४८ घण्टामा सीमा क्षेत्रमा एक हजार आठ सय ४४ ठाउँमा चेक प्वाइन्ट बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार सशस्त्र प्रहरीले ३१२ पटक सीमा क्षेत्रमा गस्तीसमेत गरेको छ ।
अस्ति मङ्गलवार बिहानदेखि आज बिहानसम्म ४८ घन्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र दुई सय २८ वटा एकल गस्ती गरेको डीएसपी थापाले बताए । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा १० हजारभन्दा धेरै जनशक्ति परिचालन गरेको छ ।
